१ महिनामै ३१ हजारले गरे नेपाली काङ्रेसमा प्रवेस

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जागरणको एक महिने कार्यक्रममा ३१ हजार ६ सय ४२ ले आफ्नो पार्टी प्रवेश गरेको दाबी गरेको छ । कांग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले अभियान क्रममा सत्तारुढ पार्टी एवं अन्य पार्टीहरुबाट नेपाली कांग्रेसमा देशभरिका कार्यक्रम मार्फत कांग्रेस प्रवेश गर्नेको संख्या उल्लेख्य रूपमा बढेको जानकारी दिएका हुन्

‘जागरण अभियानको प्रथम चरणको प्रारम्भ राष्ट्रव्यापी रुपमा एक साथ भएको थियो,’ शर्माले भने, ‘एक महिनाको अवधिमा जिल्ला, क्षेत्र र गाउँ–नगर स्तरीय कार्यक्रमहरु सँगै अन्य विषयगत महत्वपूर्ण भेला र कार्यक्रमहरु तथा कतिपय ठाउँमा वडा स्तरीय कार्यक्रम समेत गरी समग्रमा २ हजार भन्दा बढी कार्यक्रम आयोजना गरिएका छन् ।

‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ को प्रथम चरण वैशाख २५ मा शुरू भएर जेठ २५ मा सम्पन्न भएको थियो । कांग्रेसले राष्ट्रिय जागरण अभियानको एक महिने कार्यक्रमलाई पछिल्लो समय कुनैपनि राजनैतिक दलद्वारा प्याकेजमा अघि सारिएको वृहत र नविन कार्यक्रमका रुपमा जनताले लिएको दाबी गरेको छ ।

प्रवक्ता शर्माले नेपाली कांग्रेसप्रति जनताको आकर्षण बढेको र सत्तारूढ दल नेकपाप्रति जनताको विकर्षण बढ्दै गएको निष्कर्ष निकालेका छन् ।

‘वर्तमान सरकारको अधिनायकवाद उन्मुख गतिविधिहरुले सरकारप्रति तीव्र बढाएको असन्तुष्टी जागरण अभियानका क्रममा देशव्यापी रुपमा प्रकट भएको छ,’ शर्माले भने, ‘फेरी पनि नेपाली कांग्रेसले आफूलाई नविन ढंगले अघि बढाएर संविधान, संघीयता र सिंगो लोकतन्त्रको रक्षा एवं सम्वर्द्धनमा भूमिका निर्वाह गर्नु पर्ने आम अपेक्षा देखिएको छ ।’यही कारणले कांग्रेसमा प्रवेश गर्ने अन्य पार्टीका कार्यकर्ताहरूको उल्लेख्य संख्या रहेको र नव प्रवेशीहरूलाई आवश्यक प्रशिक्षणपश्चात उचित जिम्मेवारी प्रदान गर्ने शर्माले बताए ।जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रम भदौ २४ गते बीपी जयन्तीको अवसरमा शुरू हुनेछ । दोस्रो चरणको कार्यक्रम असोज ७ गतेसम्म चल्ने शर्माले जानकारी दिए ।

जेठ ३२, २०७६ मा लोकान्तरमा प्रकाशित

Add Comment